शिव परियार
शिव परियार नेपाली सांगीतिक जगतका प्रसिद्ध आधुनिक गनयक हुन।
०५१ साल भदौ ४ गते। बाल दिवस।
सर्लाहीको मलङ्गवास्थित कृष्णामति बोर्डिङ स्कुलमा जिल्लास्तरीय बालगीत प्रतियोगिता भयो। प्रतियोगितामा जिल्लाभरिका करिब ३५-४० विद्यालयहरुबाट विद्यार्थीहरुले भाग लिए। त्यहीँ भीडमा हजरियास्थित सरस्वती माध्यमिक विद्यालयबाट पनि एउटा बालक सहभागी भए।[१]
सात कक्षामा पढिरहेका ती बालक निलो कमीज र पाइन्टमा सजिएर गीत गाउन कार्यक्रमको मञ्चमा पुगे। कार्यक्रममा विभिन्न समाजसेवी, विद्यालयका शिक्षक र २५ सयभन्दा बढी विद्यार्थीहरुको उपस्थिति थियाे।
जब बालकले गाउन थाले, तब कार्यक्रमको वातावरण नै सुमुधुर भयाे। हल्ला गरिरहेका विद्यार्थीहरु शान्त भएर उनको स्वर सुन्न थाले। निर्णायकहरुका कान ठाडो भए। शिक्षकहरुले अप्रत्यासित अनुहार बनाएर उनलाई हेरिरहे। सुनिरहे।
प्रतियोगितामा भाग लिएका अन्य विद्यार्थीहरुले पनि आ-आफ्नो प्रस्तुति राखे। सबैले प्रस्तुति राखिसकेपछि करिब आधा घण्टासम्म निर्णायकहरूबीच गन्थन-मन्थन चल्यो। त्यसपछि प्रतियोगिताको नतिजा सुनाउन थालियो।
सबैमा मनको ढुकढुकी बढिरहेको थियो। सबै नतिजा सुन्न आतुर थिए।
सुरुमा सान्त्वना पुरस्कार घोषणा गरियो। त्यसपछि प्रतियोगितामा तेस्रो हुने विद्यार्थीको नाम घोषणा गरियो। क्रमशः प्रतियोगितामा दोस्रो हुनेको नाम पनि घोषणा गरियो। तर त्यतिञ्जेलसम्म पनि ती बालकको नाम भने पनि घोषणा भएन।
ती बालकको अनुहारमा डर, हतास र उत्सुकताको भाव प्रष्टै झल्किरहेको थियो। नतिजाको अन्त्यमा कार्यक्रमका सबै निर्णायकहरु उठेरै एकै स्वरमा भने, 'यस बाल गीत प्रतियोगितामा प्रथम भएका छन्– शिव परियार।'
त्यसपछि ती बालकको मुहारमा खुशीको पाइथागोरसले नयाँ समीकरण बनायो। उनको आँखामा प्रफूल्लताको कम्पासले ह्वात्तै एक सय ८० डिग्रीको कोण बनायो। उनी दंग भए। हृदयदेखि हाँसे। निर्दोष तरिकाले मुस्कुराए।
ती बालक थिए– शिव परियार। यसै प्रतियोगिताबाट अघिबढेको थियो– चर्चित गायक शिव परियारको सांगीतिक यात्रा।